कास्की — नेपालमा नै पहिलोपटक गण्डकी विश्वविद्यालयले एआई विषय पढाउने बताएको छ । स्नातकोत्तर तहमा एआई विषय पढाउन विश्वविद्यालयले पाठ्यक्रम तयार पारेको रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले जानकारी दिए ।
बुधबार सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले उक्त पाठ्यक्रम सार्वजानिक गरेका छन् । भदौ १६ गतेबाट विश्वविद्यालयले उक्त विषयको पढाइ थाल्ने छ ।
प्राकृतिक विज्ञानमात्र नभई समाज विज्ञानसँग जोडेर यसको पढाइ गरिने भएकाले यो विषय बढी व्यावहारिक हुने तिमिल्सिना बताउँछन् । अहिले पढाउनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वीकार गर्दै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी पढाइ सञ्चालन गरिने बताए ।
तिमिल्सिनाले राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञसँगको लामो छलफलपछि पाठ्यक्रम तयार पारिएको बताएका छन् । विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले यसको पढाई संचालन गर्न सके प्रभावकारी बन्ने बताए । यसको पढाई २ वर्षमा सकिने छ ।
विज्ञान प्रविधिमा स्नातक उत्तीर्ण भएकाले मात्र यो विषय पढ्न सक्नेछन् । प्रतिसेमेस्टर २० जना विद्यार्थी प्रवेश परीक्षामार्फत छनोट गरिनेछ । यसका लागि छुट्टै प्रयोगशाला बनाउन लागिएको रजिष्ट्रार तिमिल्सिनाले बताए ।